Saturday, December 13, 2008

भाउजु


पिडादायी अतितको अगेनुमा बसेर
रकेटले जस्तै धुवा फाल्छ प्रेसर कुकरले भान्सामा
तर कहिले उड्न सक्दैन आकासमा
नदि किनारका भक्तिनिहरुले जस्तै
लाखौपल्ट नुहाएका छन् भान्साका भाडाहरुले
तर कहिल्य मुक्त हुन सकेका छैनन्
प्लेटहरु चम्चाहरु अनि ग्लासहरु

गोलचक्कर पटरिमा दौडने रेल जस्तै
भाउजु निरन्तर दौडिरहेकै छिन्
भान्सा, पधेरो, जुठेल्नो र आगनमा
तरकारि बनेर भाउजु रेटिएकि छन् हजारौ पटक
आफ्नो वैशको भान्सामा
मसला बनेर पनि भाउजु पिसिएकै हुन् हजारौ पल्ट
दाइका अनेकौ परिकारहरुका लागि
भाउजु सेकुवा बनेर पनि पोलिएकै हुन् हजारौ पल्ट
चपाइएकै हुन् पटक पटक
मदिराको शालिन चुस्किहरु सग

त्यतिमात्र हो र
दाइहरुका ठुला ठुला पार्िटहरुले पनि त
मनाइ दिएकै हुन्, भाउजुको अन्तराष्ट्रीय नारिदिवस
दाइका ठुलाठुला सगठनहरुले मनाइ दिएकै हुन्
भाउजुको श्रमिक महिला दिवस
आज भाउजु व्यग्रतापुर्वक पर्खिरहेकिछिन्
गम्भिर मिटिडबाट फर्कने दाइको मुखबाट
आफ्नो अनन्त मुक्तिको समाचार सुन्न।

Sunday, October 12, 2008

घोडा



म तिम्रो घोडा हुँ
होलटाइमर कार्यकर्ता होइन
त्यसैले
तिम्रो आदेश भयो भन्दैमा
म अपमान गर्न सक्तिन मानवताको
जानाजान म कुल्चिन सक्तिन
सडक धर्ना दिने
जिउँदा मान्छेहरुलाई
म कोर्रा सहँन तयार छु
तर जानाजान तिमी चढेको रथसहित
म हामफाल्न सक्तिन भिरहरुबाट
म तिम्रो सुरक्षामा निष्ठावान छु
मैलै बुझि्दन
तिम्रो कुर्सी र भर्‍याङको
काइते जोड घटाऊ
किनकी म तिम्रो घोडा हुँ
होल्टाइमर कार्यकर्ता होइन

बाधेर दुवै आँखामा ढक्कन
मलाई कार्यकर्ता बनाउन नखोज
म तिम्रो घोडा हुँ
घोडै बन्न देऊ
मलाई नसिकाउ तिम्रो काइते भाषा
म बोल्न सक्तिन तिम्रो भाषा
तिम्रा कार्यकर्ताहरुलाई जस्तै
मेरो हिनहिनाहटलाई उपहास गर्दैनन मान्छेहरु
किनकी म घोडा हुँ
होल्टाइमर कार्यकर्ता होइन

मैले देखेको छु
युद्धहरुको बीचैमा
विश्वास घात गरेर भागेका
तिम्रो विश्वासीला कार्यकर्ताहरु
तर म भाग्न सक्तिन युद्धहरुबाट
किनकी म तिम्रो घोडा हुँ
होल्टाइमर कार्यकर्ता होइन

त्यसैले
तिम्रो आदेश भयो भने पनि
म अपमान गर्न सक्तिन मानवताको
जानाजान म कुल्चिन सक्तिन
सडक धर्ना दिने
जिउँदा मान्छेहरुलाई

गजल


अमृत नै रोप्दा पनि अमृत फल फलेन हजुर
ढाल्यौं बाहिरी तानाशाहा आफू भित्रकै ढलेन हजुर ।

समानताका कुराहरु डिनर लञ्जसँगै खायौं
गोलीको घाउमा डण्डा बस्र्यो हाम्रो पानी चलेन हजुर ।

टुटे पहाड भनिएका झुके देउता बन्नेहरु
बरफ बन्छु भन्छ आगो यथास्थिति गलेन हजुर ।

चियाउँदै छन् दुलैबाट आधा जलेका साँपहरु
हाम्रा सपना जल्नथाले बेथिति यो जलेन हजुर ।

कहाँ सक्छन् भोकै बस्न बरु बिक्छन् ठूलाघरे
बरु काटिए हाम्रा हात कसैको पाउ मलेन हजुर ।