Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Saturday, December 13, 2008

भाउजु


पिडादायी अतितको अगेनुमा बसेर
रकेटले जस्तै धुवा फाल्छ प्रेसर कुकरले भान्सामा
तर कहिले उड्न सक्दैन आकासमा
नदि किनारका भक्तिनिहरुले जस्तै
लाखौपल्ट नुहाएका छन् भान्साका भाडाहरुले
तर कहिल्य मुक्त हुन सकेका छैनन्
प्लेटहरु चम्चाहरु अनि ग्लासहरु

गोलचक्कर पटरिमा दौडने रेल जस्तै
भाउजु निरन्तर दौडिरहेकै छिन्
भान्सा, पधेरो, जुठेल्नो र आगनमा
तरकारि बनेर भाउजु रेटिएकि छन् हजारौ पटक
आफ्नो वैशको भान्सामा
मसला बनेर पनि भाउजु पिसिएकै हुन् हजारौ पल्ट
दाइका अनेकौ परिकारहरुका लागि
भाउजु सेकुवा बनेर पनि पोलिएकै हुन् हजारौ पल्ट
चपाइएकै हुन् पटक पटक
मदिराको शालिन चुस्किहरु सग

त्यतिमात्र हो र
दाइहरुका ठुला ठुला पार्िटहरुले पनि त
मनाइ दिएकै हुन्, भाउजुको अन्तराष्ट्रीय नारिदिवस
दाइका ठुलाठुला सगठनहरुले मनाइ दिएकै हुन्
भाउजुको श्रमिक महिला दिवस
आज भाउजु व्यग्रतापुर्वक पर्खिरहेकिछिन्
गम्भिर मिटिडबाट फर्कने दाइको मुखबाट
आफ्नो अनन्त मुक्तिको समाचार सुन्न।